Navigation
Global News

तीन करोडको औषधि दिँदै एनआरएन

Sep 25, 2023
तीन करोडको औषधि दिँदै एनआरएन अन्‍नपूर्ण पोस्ट् | News Story
फोटो :शेष घले, अध्‍यक्ष,एनआरएन
 
काठमाडौं: भारतीय नाकाबन्दीका कारण नेपालमा औषधि र उपकरण अभाव हुँदा अस्पतालका अत्यावश्यक सेवा बन्द हुने अवस्था आएपछि गैरआवासीय नेपाली संघ (एनआरएन) ले नेपाललाई तीन करोड रुपैयाँ बराबरका औषधि उपलब्ध गराउने भएको छ।
संघले बंगलादेशबाट जीवनरक्षक औषधि खरिद गरेर केही दिनमै नेपाल ल्याउन लागेको हो।'देशमा यति ठूलो मानवीय संकट परेको छ। यस्तो बेला हामी चुप लागेर बस्न सक्दैनौं,' औषधिको व्यवस्था र हस्तान्तरणका लागि अस्ट्रेलियाबाट नेपाल आएका संघका अध्यक्ष शेष घलेले बुधबार अन्नपूर्णसँग भने, 'त्यसैले सबैभन्दा पहिले जीवन बचाउन औषधि खरिद गरी सरकारलाई दिँदैछौं। आवश्यक परेमा थप सहयोग गर्न तयार छौं।'
नाकाबन्दीका कारण औषधि अभाव भएपछि सरकारले सहयोगका लागि अन्तर्राष्ट्रिय निकायसँग गुहारिरहेका बेला गैरआवासीय नेपाली नै सहयोग गर्न अघि सरेका हुन्। संघले तत्कालका लागि एक महिनासम्म पुग्ने औषधि खरिद गरेको हो।
नाकाबन्दीका कारण औषधिको अभाव हुन थालेपछि संघका पदाधिकारीले परराष्ट्रमन्त्री कमल थापा र स्वास्थ्यमन्त्री रामजनम चौधरीलाई भेटी औषधि जुटाउन आफूहरू प्रतिबद्ध रहेको बताएका थिए। त्यसपछि परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अभाव भएका अत्यावश्यक औषधिको विवरण तयार पारी संघलाई बुझाएका थिए।
सोही विवरणका आधारमा संघले बंगलादेशका विभिन्न औषधि उद्योगबाट खरिद गरी सरकारलाई हस्तान्तरण गर्न लागेको हो। घलेले देशलाई आपत् परेका बेला आफूहरूको सहयोगबाट केही भए पनि राहत मिल्ने बताए। उनले नाकाबन्दी कायमै रहने सम्भावना बढेमा सात-आठ करोड रुपैयाँसम्मका औषधि खरिद गरी सरकारलाई दिने प्रतिबद्धता व्यक्त गरे।
देशलाई आपत्त परेका बेला हाम्रो सहयोगबाट केही भए पनि राहत मिल्‍नेछ। नाकाबन्दी कायमै रहे सात-आठ करोड रुपैंयाँसम्‍मका औषधि दिन्छौं। -शेष घले, अध्‍यक्ष,एनआरएन 
संघको यसै साता बसेको अन्तर्राष्ट्रिय समन्वय समितिको बैठकले अत्यावश्यक औषधि वितरण गर्ने निर्णय गरेको थियो। संघले यसअघि पनि नेपालमा विनाशकारी भूकम्प जाँदा १० करोड रुपैयाँका औषधिलगायत अत्यावश्यक सामग्री वितरण गरेको थियो।
यसैबीच स्वास्थ्य तथा जनसंख्यामन्त्री चौधरीले एक साताभित्रै सरकारले अभाव भएका सबैखाले औषधि जुटाउने दाबी गरेका छन्। औषधि अभाव हुन नदिन सबै वितरक र बोलपत्र आह्वान गर्ने निकायलाई निर्देशन दिइसकेको उनले बताए।
सबै अस्पतालका निर्देशकलाई बोलाएर अभाव भएका औषधिको सूची मागिसकेको र औषधि जुटाउन चौतर्फी लागिपरेको पनि उनले बताए।औषधिका लागि अन्तर्राष्ट्रिय निकायसँग आग्रह गरेको र अधिकांशले प्रतिबद्धता जनाएको उनको भनाइ थियो।
मन्त्री चौधरीले भने, 'संकटका बेला बिरामीको जीवन बचाउन दातृनिकायको अनुरोधअनुसार एक प्रतिशत भ्याट तिर्न अर्थ मन्त्रालयसँग कुरा भइसकेको छ। अर्थ मन्त्रालय भ्याट तिर्न तयार भइसकेको छ। अब एक सातापछि नेपालमा औषधिको कमी हुने छैन।'
उनले वीरगन्ज-रक्सौल नाकामा रोकिएका औषधिका ट्रकलाई नाका परिवर्तन गरी नेपाल ल्याउन भारतीय राजदूतलाई पत्र पठाइएको जानकारी पनि दिए। मन्त्री चौधरीका अनुसार भारतीय दूतावासले नाकामा रोकिएका औषधि नेपाल ल्याउन सहयोग गर्ने आशयसहितको पत्र स्वास्थ्य मन्त्रालयमा पठाएको छ।
- See more at: http://www.annapurnapost.com/News.aspx/story/21916#sthash.UhnKyARk.dpuf