Navigation
Global News

एनआरएनले बैदेशिक रोजगार सूचना केन्द्र स्थापना गर्ने

Sep 25, 2023
११ पुस, काठमाडौं । गैरआवासीय नेपाली संघले बैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई गन्तब्य मुलुकबारे सही सूचना उपलब्ध गराउन ‘बैदेशिक रोजगार सूचना केन्द्र’ स्थापना गर्ने भएको छ । बैदेशिक रोजगार प्रर्बद्धन बोर्ड र अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) सँगको सहकार्यमा काठमाण्डौको लेवर भिलेजमा गैरआवासीय नेपाली संघले अत्याधुनिक सूचना केन्द्र स्थापना गर्न लागेको हो । सूचना केन्द्र संचालन गर्ने सम्बन्धमा शुक्रबार गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र बैदेशिक रोजगार प्रर्बद्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेवीच समझदारीपत्रमा हस्ताक्षर भयो । समझदारीअनुसार काठमाण्डौको ताहाचलस्थित लेवर भिलेजमा एनआरएनले एक सूचना केन्द्र स्थापना गर्ने छ जहाँ मलेसिया, खाडीमुलुक लगायतका श्रम गन्तब्यसम्बन्धी श्रब्यदृष्यसहितका सूचना उपलब्ध हुनेछन् । सोही लेवर भिलेजमा बैदेशिक रोजगार बिभाग लगायतका श्रमसँग सम्बन्धित निकायसमेत स्थापना गरिँदै छ । ‘सूचना केन्द्रमै गैरआवासीय नेपाली संघले कानुनी परामर्शको ब्यबस्था समेत गर्ने छ’ एनआरएन अध्यक्ष घलेले भने- ‘केन्द्र संचालनका लागि कर्मचारी र परामर्शदाताको ब्यबस्था हामीले गर्नेछौं ।’ सूचना केन्द्र स्थापना गर्ने एनआरएनको लामोसमयदेखिको योजना पुरा भएको भन्दै उनले यसले नेपाली कामदार ठगिनबाट ठूलो सहयोग गर्ने विश्वास ब्यक्त गरे । श्रम तथा रोजगार मन्त्रालयका सचिव भोलाप्रसाद शिवाकोटीले भने- ‘एनआरएनसँगको सहकार्य सुरुवात मात्रै हो, एनआरएनजस्तो ठूलो नेटवर्क भएको संस्थासँग मिलेर धेरै काम गर्न सकिन्छ ।’ प्रर्बद्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले एनआरएनजस्तो सशक्त साझेदार पाउँदा बैदेशिक रोजगारीमा हुने समस्या समाधानका लागि सहयोग पुग्ने बताए ।