Global News
एनआरएनले खोल्ने खुला विश्वविद्यालयमा समझदारी
काठमाडौ, जेष्ठ २९ - खुला विश्वविद्यालय स्थापनाका लागि शिक्षा मन्त्रालय र गैरआवासीय नेपाली संघ (एनआरएन) बीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
दुई निकायले बुधबार उद्योग वाणिज्य महासंघमा पत्रकार सम्मेलन गरी स्थापना र सञ्चालनका लागि सहमतिपत्रमा हस्ताक्षर भएको बताएका हुन् । 'समझदारीपत्रले सन् २०१० मा काठमाडौं र २०१२ मा सिडन अस्ट्रेलियामा भएका पूर्वसमझदारीहरूलाई कार्यान्वयनमा ल्याउन मार्ग प्रशस्त गर्ने भनिएको छ,' उनीहरूद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'खुला विश्वविद्यालय स्थापना र सञ्चालनका लागि त्यससम्बन्धी कानुनको खाका तयार भइरहेको छ ।'
समझदारीअनुसार मन्त्रिपरिषद्ले गठन गरेको खुला विश्वविद्यालय पूर्वाधार समितिअन्तर्गत मन्त्रालयका अधिकारी र एनआरएनको सहभागितामा अधिकार सम्पन्न प्राविधिक एकाइ खडा गरिने जनाइएको छ । उक्त समितिले सञ्चालनको कार्यलाई सहज र छरितो बनाउने विश्वास गरिएको छ । समझदारीले नेपालीहरूको ज्ञान, सीप, अन्वेषण र प्राविधिक पहुँचलाई नेपाल भित्र्याउन सहज पारेको एनआरएन अध्यक्ष शेष घलेले बताए ।
साभार कान्तिपुर अनलाइन प्रकाशित मिति: २०७१ जेष्ठ २९ ०९:२८